
काठमाडौँ : नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन्।
आइतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताए।
उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ने दाबी गरे। उनले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताए। उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने कुरा पनि पछिल्लो समय खस्कँदै गएको बताए।
उनले भने, ‘राज्यले शिक्षाको उद्देश्य तय गर्न सकेको छैन। संघीय शिक्षा ऐन नआएको भनेर व्यापक रूपमा प्रश्न खेपिरहनु परेको छ। त्यो आए पनि त्यसले उद्देश्य तय गर्ने स्थिति देखिरहेको छैन। त्यसले राष्ट्रिय उद्देश्य कसरी पूरा गर्ने भन्ने छैन। सम्बन्धन दिने मात्रै कुरा प्रधान हो भन्ने लाग्दैन। निजी क्षेत्रले राम्रो शिक्षा दिन्छ भन्ने थियो त्यो पनि बिग्रँदै गयो। किनभने छाता त सरकारकै नियन्त्रणमा हुन्छ।’
नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताए।