
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आज श्रीलंका डेभलपमेन्टसँग तीन एकदिवसीय अन्तर्गत दोस्रो अभ्यास खेल खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ । हिजो पहिलो दिनको अभ्यास खेल ठूलो वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल भोलि खेल्ने तालिका छ । अभ्यास खेल पछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।
नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।