
काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुदैछ ।
दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिका तथा पहिलो संस्करणको विजेता इंग्ल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा केपटाउनमा हुनेछ ।
इंग्ल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा रहेको थियो । दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता भएको थियो ।
इंग्ल्याण्ड चार संस्करणको फाइनल पुग्दा दक्षिण अफ्रिका भने हालसम्म फाइनल पुग्न सकेको छैन ।
पछिल्लो पाँच टी-ट्वान्टी खेलमा इंग्ल्याण्डले चार खेलमा जित हात पार्दा एक खेल भने दक्षिण अफ्रिकाले जितेको छ ।
आजको सेमिफाइनलका विजेताले आईतबार पहिलो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्ने छन् ।
बिहिबार भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो ।