जोडिनुहोस
  • होमपेज
  • बंगलादेश छोड्दै व्यवसायीहरू, ७ महिनामा १४० कपडा उद्योग बन्द

बंगलादेश छोड्दै व्यवसायीहरू, ७ महिनामा १४० कपडा उद्योग बन्द

पछिल्लो समय बंगलादेशको गार्मेन्ट क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। पूर्व प्रधानमन्त्री शेख हसीना सत्ताच्युत भएसँगै बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द भइसकेका छन् ।

एक लाख मजदुर बेरोजगार

धमाधम उद्योग बन्द भएपछि यसबीचमा एक लाखभन्दा बढी मजदुरहरू बेरोजगार भएका छन्। गाजीपुर, सावर, नारायणगन्ज र नर्सिन्दीमा मात्रै ५० भन्दा बढी उद्योग स्थायी रूपमा बन्द भइसकेका छन्, जबकि करिब ४० गार्मेन्ट उद्योग अस्थायी रूपमा बन्द छन्।

कैयौं गार्मेन्ट कम्पनीहरूमा मजदुरहरूलाई दुई महिनादेखि १४ महिनासम्मको तलब बक्यौता रहेको बंगलादेशी सञ्चार माध्यमहरूले लेखेका छन् ।

ईदको नजिकै आउँदा स्थिति झन् जटिल र ईदपछि थप उद्योगहरू बन्द हुने सम्भावना रहेको छ। यस गम्भीर स्थितिलाई समाधान गर्न सरकार र उद्योग मालिकहरूले कुनै पहल नगरेको भन्दै मजदुरहरू सडकमा उत्रिएर आन्दोलन गर्न बाध्य बताइरहेका छन् ।

२० प्रतिशत अर्डर बाहिरियो

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्स्पोर्टर्स एसोसिएसनका अनुसार, बंगलादेशको गार्मेन्ट उद्योगका २० प्रतिशत अर्डर भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानतर्फ सर्न थालेका छन्।

गार्मेन्ट उद्योग अचानक बन्द हुनुलाई आर्थिक मन्दी र राजनीतिक अस्थिरता दुई प्रमुख कारण मानिएको छ।

बन्द भएका धेरै उद्योगहरू पूर्व प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगका नेताहरूसँग सम्बन्धित छन्।

यसमा हसीनाका विदेशी लगानी सल्लाहकार सलमान एफ। रहमानको बेक्सिमको कम्पनी पनि पर्दछ। विगत सात महिनामा बेक्सिमकोका १५ उद्योगहरू स्थायी रूपमा बन्द भइसकेका छन्।

साथै, अवामी लिगका मन्त्री गाजी दस्तगीरको समेत कैयौं उद्योग बन्द भएका छन्।

लेबर युनियनका नेता मोहम्मद मिन्टू भन्छन्, ‘बेक्सिमको मजदुरहरूलाई तलब र बोनस समयमा दिइने गार्मेन्ट क्षेत्रको दिग्गज कम्पनी थियो, तर, यो कम्पनी बन्द भएपछि समस्या थप गम्भीर बनेको छ।’

धेरै ठूला गार्मेन्ट व्यापारीहरूले देश छोडिसकेकाले उद्योगहरू बन्द हुने समस्या झन् बढाएको बताइएको छ ।

सरकारले उद्योगहरू बन्द हुनुको कारण बजारमा अर्डर घटेको बताइरहेको छ। तर, गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरका कानुनी सल्लाहकार खैरुल मामुन मिन्टू भने यो तर्कसँग असहमत छन् । ‘यो तर्क झुटो हो । अहिले पनि बाँकी रहेका उद्योगहरूमा अर्डरको चाप छ। समस्याको जड राजनीतिक अस्थिरता हो,’ उनले भने ।

उनी थप्छन्, ‘यदि यो संकट चाँडै समाधान गरिएन भने देशमा आर्थिक मन्दी आउने सम्भावना बढ्नेछ। तर, वर्तमान सरकारले गार्मेन्ट उद्योगलाई सुधार गर्न कुनै ठोस कदम उठाएको छैन।’

गार्मेन्ट क्षेत्र बंगलादेशको अर्थतन्त्रको आधार हो। यो उद्योग देशको ८४ प्रतिशत विदेशी मुद्रा कमाउने मुख्य स्रोत हो। यसले प्रत्यक्ष रूपमा ५० लाख र अप्रत्यक्ष रूपमा करिब १।५ करोड मानिसलाई रोजगारी दिएको छ।

यस क्षेत्रमा महिलाहरूको ठूलो सहभागिता छ, तर हालको संकटले यस समग्र व्यवस्था र समाजलाई गहिरो असर पुर्‍याएको छ।

पछिल्लो समय बंगलादेशमा नयाँ विद्यार्थी नेताहरूको पार्टी ‘नेसनल सिटिजन पार्टी’ ९एनसीपी० र सेनाबीच विवाद गहिरिँदै गएको छ।

एनसीपीका नेताहरू हसनत अब्दुल्लाह र सर्जिस आलमले सेना शेख हसीनाको अवामी लिगलाई नयाँ पार्टीको रूपमा पुनःस्थापित गर्ने योजना बनाइरहेको आरोप लगाएका छन् ।

उनीहरूले दाबी गरेअनुसार, सेना हसीनाको नेतृत्वमा नयाँ पार्टी बनाउने प्रयासमा छ। यद्यपि, सेनाले भने यो आरोप अस्वीकार गर्दै आफूहरूको यस्तो कुनै योजना नरहेको बताएको छ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका