
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।
खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन् । समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो । बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो तटबन्ध निर्माण गरेका हुन् ।
नौखरीमा मुक्तकमैया परिवारको बसोबास छ । तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ । सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुंगा ढुवानीमा पाँच लाख खर्च भएको जानकारी दिए ।