
गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको शहीद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिए । सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट विनियोजन भएको एक लाख रुपैयाँको लागतमा पुल मर्मत भएको उनको भनाइ छ ।
पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।