
काठमाडौं– किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल परिवार नियोजन सङ्घद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।
यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ । यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्दछ ।