
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा सापटी स्वरुप रिपो जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन १८ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । एक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
फागुन १८ गते जारी हुने रिपो आगामी चैत २ गते परिपक्क हुनेछ । केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपो मार्फत पैसा पठाउने गर्छ भने अधिक तरलता हुँदा पुनः रिभर्स रिपोमार्फत पैसा उठाउने गर्छ ।