
भारतले यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा स्वदेशमै विकसित सेमिकन्डक्टर चीप उत्पादन शुरु गर्ने भएको छ । भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले स्वदेशमा विकसित सेमिकन्डक्टर चीपको उत्पादन यसै वर्षको सेप्टेम्बर वा अक्टोबर महिनामा शुरु हुने जानकारी दिएका हुन् ।
गुजरात राज्यको धोलेरा शहरमा टाटा कम्पनीले ताइवानको पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसनसँग मिलेर सेमिकन्डक्टर एकाई निर्माण गरिरहेको छ । त्यसैगरी गुजरातकै सनन्द क्षेत्रमा मिक्रोनको एसेम्बली र परीक्षण केन्द्रको निर्माण प्रक्रिया ६० प्रतिशत सम्पन्न भइसकेको टेक इन एशियाले जनाएको छ । भारत सरकारले बैंगलुरुस्थित भारतीय विज्ञान प्रतिष्ठानलाई गेलियम नाइट्राइड प्रविधिमा अनुसन्धान गर्नका लागि ३ सय ३४ करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । भारत अहिले विश्वमा सेमिकन्डक्टर प्रविधिको क्षेत्रमा अग्रणी मुलुकको रूपमा स्थापित हुने प्रयासमा छ ।