जोडिनुहोस
  • होमपेज
  • भारत सरकारको सहयोगमा दैलेखमा बन्दैछ विद्यालयमा बहुउद्देश्यीय भवन

भारत सरकारको सहयोगमा दैलेखमा बन्दैछ विद्यालयमा बहुउद्देश्यीय भवन

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा दैलेखको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माणको सोमबार शिलान्यास भएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बहुउद्देश्यीय भवन निर्माणको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ९० लाख रुपैयाँ लागतमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण भइरहेको हो । भारत सरकारको अनुदानमा विद्यालयमा साढे तीन तल्ले भवन निर्माण हुनेछ । जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ । यसको दुल्लू नगरपालिका मार्फत कार्यान्वयन भइरहेको हो ।

कर्णाली प्रदेश सरकारका मन्त्री, दुल्लू नगरपालिका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरू र स्थानीय समुदायलाई दुल्लू राज्यको इतिहास र संस्कृतिको बारेमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको कर्णाली प्रदेशमा शिक्षा र संस्कृति क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ । यस्तै ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् । यस बाहेक भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

कार्यक्रममा राजनीतिक प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका