
प्रेस चौतारी नेपालको नेतृत्वका लागि निर्वाचनका कार्यक्रम सार्वजनिक भएको छ । विराटनगरमा जारी १० औं राष्ट्रिय महाधिवेशनका लागि सोमबार दिउँसो १ बजेबाट निर्वाचनका कार्यक्रम तय गरिएको छ ।
होटल मनास्लु ईनमा जारी निर्वाचन प्रक्रियाका लागि निर्वाचन आयोगले जारी गरेको कार्यक्रममा मतदानका लागि समय भने छुट्टाइएको छैन ।
दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, साढे १ बजे मतदाता नामावली दाबी विरोध, २ बजे दाबी विरोध उपर जाँचबुझ, साढे २ बजे अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको छ ।
त्यस्तै, पौने तीन बजे अध्यक्षमण्डलसमक्ष मनोनयन दर्ता, ३ बजे उम्मेदवारको नामावली प्रकाशन, ३ः१० बजे उम्मेदवारमाथि दाबी विरोध, सवा तीन बजे दाबी विरोध उपर जाँचबुझ र ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको छ । सवा ४ बजे उम्मेदवारको नाम फिर्ता, ४ः२० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय भएको छ ।
त्यसपछि मतदानको कार्यक्रम नराखी सिधै निर्वाचन परिणाम घोषणाको कार्यक्रम तय भएको निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, मनोनयनका दर्ताका लागि लेबी रकम पनि तोकिएको छ । अध्यक्षका लागि ३५ हजार, पदाधिकारीका लागि २५ हजार, आयोगको अध्यक्षका लागि १५ हजार र केन्द्रीय सदस्य, आयोगका पदाधिकारी र सदस्यहरूका लागि १० हजार शुल्क तोकिएको छ ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत रुपमा गणेश पाण्डेलाई बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
पाण्डे वर्तमान उपाध्यक्ष हुन् । अर्का उपाध्यक्ष राजेश राई पनि अध्यक्षको दाबेदार हुन् । दुवैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
९ औं महाधिवेशनमा राई र पाण्डे दुवै अध्यक्षको दाबेदार थिए । त्यसबेला गणेश बस्नेत नै दाहोरिएपछि राई र पाण्डे उपाध्यक्ष नै बसे । १०औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो ।
पाण्डेलाई सचिवको जिम्मेवारी दिएपछि राई स्वभाविक अध्यक्षको एकल दाबेदार थिए । तर, फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भन्दै चैत ८ गते सचिवबाट राजीनामा दिए ।
केन्द्रको निर्देशन चौतारीमा लाद्न खोजेको भन्दै प्रतिनिधिहरुले हस्ताक्षर अभियान संकलन पनि भएको छ । प्रतिनिधिहरुले निर्वाचन मार्फत नेतृत्व छान्न पाउनु पर्ने माग राखेका छन् ।