
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् । महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन् । महाराजगञ्ज नगरपालिकाको आयोजना तथा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दिउँसोसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका नगर प्रमुख अब्दुल कलामले जानकारी दिएका छन् ।
शिविरमा आएका पाँच सय चार जनालाई चस्मा वितरण र एक सय ७२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । शिविरमा मधुमेहका बिरामीका साथै अन्यलाई पनि निःशुल्क औषधि वितरण गरिएको थियो । महाराजगञ्ज नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।