
काठमाडौं— न्यायका लागि तराई–मधेसबाट काठमाडौं आएका मिटरब्याज पीडितसँग सरकारले वार्ताको तयारी गरेको छ ।
उनीहरूका माग सम्बोधन लागि गृह मन्त्रालयले वार्ता गर्न लागेको हो । पीडितहरू महोत्तरीको बर्दिबासबाट हिँडेरै आइतबार काठमाडौं आइपुगेका थिए ।
वार्ताका लागि उनीहरूले टोली गठन गरेका छन् । गृह मन्त्रालयका एक अधिकारीका अनुसार पीडितबाट जानकारी आएलगत्तै वार्ता हुनेछ । गृहले सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
मंगलबार मात्र सरकारले मिटरब्याजलाई अपराध मान्ने गरी कानुन बनाउने निर्णय गरिसकेको छ । यससम्बन्धी कानुनको मस्यौदा कानुन मन्त्रालयमा रहेकोमा छिटो प्रक्रिया पूरा गरी संसद्मा लैजाने तयारी छ ।
मिटरब्याजपीडित आन्दोलन गर्न पटक–पटक काठमाडौं आएका छन् ।