
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति स्टार्सवर्गसँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले लिग वानको उपाधि जितेको हो ।
पीएसजीले ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गरेका थिए । मेस्सीको यो युरोपको शीर्ष पाँच लिगमा ४९६ औं गोल हो । उनले रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका छन् ।
त्यसपछि खेलको ७९ औं मिनेटमा केभिन गेमिरोले गोल गर्दै स्टार्सवर्गलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोड्यो । स्टार्सवर्ग ४० अंक जोडेर १५ औं स्थानमा रह्यो ।