
नेपालमा केही वर्षदेखि मौसम पूर्वानुमान मिल्ने क्रम बढे पनि पूर्वचेतावनी प्रणाली कमजोर छ । ठूलो पानी पर्ने, हावाहुरी चल्नेजस्ता पूर्वानुमानहरू सही सावित हुँदै गर्दा त्यसबाट भइरहेको क्षति घटाउन सकिएको छैन ।
सामान्यतया पूर्वानुमान भइसकेपछि पूर्वचेतावनी भएर क्षति घट्नुपर्ने हो । तर एकाध घटनाबाहेक धेरैजसोमा पूर्वानुमानकै बीच जनधनको क्षति बढिरहेको छ । त्यसो हुनुमा पूर्वचेतावनी प्रणाली सुदृढ नहुनु हो ।
विपद् वि ज्ञ डा। वसन्तराज अधिकारी नेपालमा पूर्वचेतावनीको अभावले क्षति अत्यधिक हुने गरेको बताउनुहुन्छ । बाढी, पहिरोलगायत केही प्रकोपका पूर्वचेतावनी जारी भए पनि त्यो पर्याप्त छैन । हावाहुरी, असिना, चट्याङ, पहिरो, हिमनदी विस्फोटलगायतका जोखिमहरूमा भने पूर्वचेतावनी नगन्य मात्रै छ । दिइएका चेतावनी पनि निश्चित ठाउँ नभई क्षेत्र तोकिएका हुन्छन् । यसले अलमल बढाउँछ ।
सूचना प्रवाहका साधनको कमी, प्रविधिको अभाव र जनचेतनाको कमीका कारण दिइएका चेतावनीहरू प्रायः प्रभावकारी रूपमा सबैसम्म पुर्याउन सकिएको छैन ।
नेपालमा पूर्वचेतावनी प्रणालीलाई बलियो बनाउन पूर्वानुमान स्टेशनहरू स्थापनासँगै सूचना प्रवाहको सञ्जाललाई पूरा गाउँसम्म विस्तार गर्नु आवश्यक रहेको विपद् विज्ञ डा। अधिकारी बताउनुहुन्छ । स्मार्टफोन र रेडियोजस्ता प्रविधिहरूको माध्यमबाट सूचना नागरिकसम्म पुर्याउने कामलाई प्राथमिकता दिनुपर्छ ।
यस वर्षको मौसम विज्ञान दिवसको नारा पनि सँगै मिलेर प्रारम्भिक चेतावनीको खाडल बन्द गरौँ भन्ने रहेको छ । हरेक वर्ष मार्च २३ मा मनाइने मौसम विज्ञान दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् ।