
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजा ज्ञानेन्द्रको स्वागत तथा पार्टीका भावी कार्यक्रमबारे छलफल हुने बर्तौलाले बताए ।
आगामी दिनमा हिन्दूराष्ट्र , राजसंस्थाको एजेन्डा स्थापित गर्न र सङ्घीयता खारेज गर्नको लागि समान विचार र उद्देश्य भएकाहरू एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा अध्यक्ष थापाले जोड दिइरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।