
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् ।
बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् ।
उनले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।”