
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरे ।
संविधानको मर्म र भावनाअनुसार समाजवादोन्मुख अवधारणामा बजेट आउनुपर्ने र त्यसले अर्थतन्त्रलाई बलियो बनाउँदै विदेशमा रहेका श्रमिक नेपाली दाजुभाइलाई समेत सचेततापूर्वक समेट्नुपर्नेमा उनको जोड थियो ।