जोडिनुहोस
  • होमपेज
  • शान्ति प्रक्रिया सफल पारौँ, मलाई श्रेय चाहिएन ; प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया सफल पारौँ, मलाई श्रेय चाहिएन ; प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ । ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरू गरेको र आफैँले अगाडि बढाएको बताउनुभयो । उहाँले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन र सफल पार्न मात्रै चाहेको तर त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पीडितका घाउमा मलम लगाउन र अबदेखि नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुङ्ग्याइने भन्दै समझदारी गर्न आह्वान गर्नुभयो । तीन राजनीतिक दलले सङ्कल्प गर्ने हो भने धेरै समय नलाग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले शान्ति प्रक्रिया आफैँले शुरू गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय मबाहेक अरू सबैलाई दिन चाहन्छु । मलाई श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मलम लगाऔँ । उहाँहरूका आँशु पुछौँ । नेपाली नागरिकलाई निश्चिन्त बनाऔँ कि अब नेपालमा शान्ति हुनेछ ।’

ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि त्यो हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ रु भन्दै प्रश्न गर्नुभयो । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । नागरिकलाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरूले लिनुपर्ने भन्दै उहाँले नागरिकलाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । अशान्ति भड्काउने दिशामा नजान उहाँले सबै राजनीतिक दलहरूसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले नागरिकका सुझाव सुन्नका लागि आफू सधैं तयार रहेको बताउनुभयो । सबैको रचनात्मक भूमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका