
काठमाडौं। श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई एनओसी आवश्यक नरहेको जनाएको हो ।
त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज–पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्षमुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ ।
त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जानकारी दिएको छ ।
त्यस्तै रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।