जोडिनुहोस
  • होमपेज
  • संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ ; उपप्रधानमन्त्री सिंह

संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ ; उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।

बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए ।

संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमीकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन, उपप्रधानमन्त्री सिंहले भने ।

उनले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमगाउने कुरा नभएको बताए ।

अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताए ।

उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए ।

उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए ।

‘भएको कुरालाई भएको भन्ने बानी गरौँ । नभएको, गर्न बाँकी काम पूरा गर्नतिर लागौँ, ‘उनले भने,’विकास निर्माणको काम राम्रो भएर मात्र हुँदैन, जनप्रतिनिधिले बुझ्ने तर जनताले नबुझ्दा पनि समस्या देखिएको छ । विकास निर्माणको काममा शुरूदेखिनै जनतालाई सहभागिता गराउनुपर्छ । जनता र जनप्रतिनिधि सँगै मिलेर काम गर्दा असम्भव ठानिएको कुरा पनि सम्भव छ ।’

कार्यक्रममा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तीर्थ लामा, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युत वाग्लेलगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनेपाका विकासमा आफूहरूले सकेको काम गर्ने बताएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका