जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • संविधान संशोधन २०८७ मा हुन्छ भनेर अहिले घोषणा गर्ने विषय होइनः गृहमन्त्री

संविधान संशोधन २०८७ मा हुन्छ भनेर अहिले घोषणा गर्ने विषय होइनः गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार नै सरकार अघि बढ्ने बताएका छन्।
अहिलेको सरकार राम्रा काम गर्नेतर्फ अग्रसर भइरहेको उनको भनाइ छ। उनले संविधान संशोधन प्रक्रिया पनि अघि बढ्ने बताए।

‘कांग्रेस र एमालेबीच सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ। सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ,’ सिंहदरबारमा आइतबार पत्रकारहरूसँग गृहमन्त्री लेखकले भने, ‘संविधान संशोधन चरणवद्ध हो। ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन।’ प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने अभिव्यक्ति एमाले केन्द्रीय कमिटी बैठकमा दिएका थिए।

तर गृहमन्त्री लेखकले संविधानको सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरूसँग छलफल र समन्वय गरेर संविधान संशोधन गरिने बताए।

‘सबै राजनीतिक दलहरूका बीचमा वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘१० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्छ। त्यसमा सबै राजनीतिक दलका बीचमा सहमतिको वातावरण बन्नुपर्छ। के संशोधन गर्ने भन्नेमा सहमति गर्नुपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो।’

उनले के–के संशोधन गर्ने भन्नेमा कांग्रेस र एमालेको कार्यदलले काम गर्ने पनि बताए।

धेरै टिप्पणी गरिएका