
काठमाडौं– सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो ।दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ । गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ ।
‘हिजोको हिंसात्मक घटनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पूर्वराजाको संलग्नता छ । उनले निर्मल निवासमै बोलाएर दुर्गा सुवेदी र नवराज सुवेदीसहितलाई उकास्ने काम गरेका थिए,’ प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबसँग भने, ‘यो प्रकरणमा सरकार सोचेभन्दा पनि गम्भीर छ । यो घटनामा तपाईंहरूले सोचेभन्दा पनि कडा रुपमा प्रस्तुत भएर सरकारले दोषी जो जति संलग्न छन्, ती सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।’