
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नंं. ७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कोइरालाले कांग्रेस–एमालेको करिव दुई तिहाइ बहुमत रहे पनि सवैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
संविधान संशोधनका लागि जनमत संग्रहजस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनको भनाइ छ । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे ।उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।