
नेकपा एकीकृत समाजवादीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने तयारी गरेसँगै एकीकृत समाजवादीका नेताहरू आन्तरिक रणनीति बनाउन लागि परेका हुन् ।
‘हरेक दलको आन्तरिक कुरा हुन्छ । सत्तापक्ष हाम्रै पार्टी फुटाउन तारन्तर प्रयास गरिरहेको छ । यो बेला आन्तरिक छलफल हुनु स्वभाविक हो,’ एकीकृत समाजवादीका एक नेताले भने ।
उनका अनुसार अध्यादेश दुवै सभाबाट स्वीकृत गराउन दबाब दिने नीति सत्तारुढ दलले लिएका छन् । यस अन्तर्गत राजनीतिक दलसम्बन्धी विधेयक आउन लागेको एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ ।
अध्यादेश जस्तो तत्कालै विधेयक लागू नहुने भएकाले संसद्मा विधेयक आएपछि पनि तयारीका लागि समय हुन्छ । तर, आफ्नो पार्टीका सांसदलाई अहिले देखि नै निगरानीमा राख्ने काम अध्यक्ष माधव नेपालले गरिरहेका छन् । नेता नेपाल राष्ट्रिय सभामा रहेका दलका सांसदसँग निरन्तर संवादमा छन् ।
‘पार्टी नेतृत्वले सांसदहरूसँग निरन्तर संवाद गरिरहेको छ । यो स्वभाविक हो र हुन्छ,’ एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले भने । उनका अनुसार सरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याएता पनि अध्यादेश राष्ट्रिय सभाबाट पास हुने ग्यारेन्टी छैन ।