
धादिङ सुरुङमार्गको कामका लागि भोलिदेखी त्रिभुवन राजपथको सिस्ने खोला क्षेत्रको सडकमा केही अवरोध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर भोलिदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध हुने जानकारी गराएको हो । कार्यालयका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फ सडक हरेक २० मिनेट खुल्ने र त्यसपछिको २० मिनेट बन्द हुनेछ । ढलान काट्ने कार्य गर्नुपर्ने भएकाले सडकमा गाडी चलाउन रोक लगाइएको हो । एम्बुलेन्सलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले निकाल्नुभएको सूचनामा उल्लेख छ ।