
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका बागेसिमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो । दुर्घटनामा दुई बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन् । उनीहरूको आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।