
काठमाडौँ । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चारलाई पक्राउ गरिएको कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले जानकारी दिए ।
एसपी भट्टका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बिहीबार दिउँसो २:४५ बजे बाणगंगा नगरपालिका ४ जितपुर स्थित चार नम्बर चोकमा रहेको के.सी. फेन्सी पसलको गोदामबाट ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।
प्रहरीले अन्डरग्राउण्डमा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ । उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूसँगै रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।