जोडिनुहोस
  • होमपेज
  • स्ववियु निर्वाचनको तयारी ; सातै प्रदेशमा कांग्रेसले खटायो नेता

स्ववियु निर्वाचनको तयारी ; सातै प्रदेशमा कांग्रेसले खटायो नेता

नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा सात नेतालाई जिम्मेवारी दिइएको छ ।

पार्टी केन्द्रले गरेको तयारी र महामन्त्री विश्वप्रकाश शर्माले तल्लो तहमा गरेको सर्कुलरलाई सञ्चार माध्यममा लान नहुने निर्देशन छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु निर्वाचनको मिति ५ चैतका लागि तोकेको छ । स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्रीहरूमा भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।

स्ववियु निर्वाचनमा पार्टीले निर्णय गरेर सक्रिय नहुने केन्द्रीय तहका नेता बताउँछन् । एक पूर्व विद्यार्थी नेता भन्छन्, ‘पार्टीले निर्णय गरेर स्ववियु निर्वाचनमा लाग्दैन । विद्यार्थी राजनीति गरेर आएकाहरूको चासो हुनु स्वभाविक हो ।’

पार्टी शीर्ष तहबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी पाएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट संयोजन गर्नेगरी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई जिम्मेवारी दिइएको छ ।

सात प्रदेशमा जिम्मेवारी पाएका नेताहरूलाई सघाउनेगरी केन्द्रीय कार्यालयबाट सात व्यक्तिलाई खटाइएको छ । प्रदेशगत तोकिएका नेताहरूले सम्बन्धित स्थानका केन्द्रीय सदस्यहरूलाई छुट्टाछुट्टै बैठक बोलाएका छन् । आइतबार कोशी र बागमतीका केन्द्रीय सदस्यहरूलाई अनौपचारिक छलफलका लागि केन्द्रीय कार्यालय बोलाइएको छ ।

महामन्त्री शर्मालाई पार्टीले यसअघि संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको बेलामा समेत पार्टीले परिचालान समितिको संयोजक तोकेको थियो । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले औपचारिक निर्णय गरेर स्ववियुको तयारीमा लागेको भने होइन ।

उनी भन्छन्, ‘नेविसंघलाई जिताउनेगरी पार्टीले अनौपचारिक कार्यहरु गरिरहेको छ । स्ववियुमा पार्टीले निर्णय गरेर लाग्ने भन्ने हुँदैन ।’

प्रदेशगत जिम्मेवारी पाएका नेताहरूले नेविसंघभित्र देखिएको विवाद मिलाउने समेत कार्य गर्नेछन् । नेविसंघमा दुई समूहको विवाद छ । सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी नेताहरूबीच भएको विवाद तल्लो तहसम्म पुगेको छ ।

महामन्त्री शर्माले स्ववियु चुनावलाई ध्यानमा राखेर पार्टीबाट आवश्यक सहजीकरण गर्नका लागि ७ प्रदेश र ७७ जिल्लामा सर्कुलर गरेका छन् । प्रदेशलाई ७ र जिल्लालाई ११ बुँदे सर्कुलर गरिएको छ । प्रदेश र जिल्ला पार्टी संरचनाले गर्नुपर्ने कार्यहरु उल्लेख गरी सर्कुलर पठाइएको छ ।

सर्कुलरमा नेविसंघलाई जिताउन पार्टीले गर्नुपर्ने आन्तरिक कार्य, भ्रातृ संस्था परिचालन, दुई दलीय संयन्त्रको बैठक, हरेक क्याम्पसमा लागि टीम निर्माण, अनुगमन, फरक फरक जिम्मेवारी लगायतका विषय समेटिएको छ ।

स्ववियु चुनावमा कांग्रेस र एमालेका विद्यार्थी संगठन मूख्य प्रतिस्पर्धी शक्ति भएकाले स्वच्छ वातावरणमा निर्वाचन गराउन भूमिका खेल्न आन्तरिक सर्कुलर गरिएको छ । सम्पूर्ण कुरा थाति राखेर चैत ५ सम्म केन्द्रीत हुनु सर्कुलर प्राप्त भएको एक जिल्ला सभापतिले जानकारी गराए ।

आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटामा चुनाव हुन सकेको थिएन । तत्कालीन समयमा नेविसंघले १३३ क्याम्पसमा जितेको दाबी गरेको छ ।

धेरै टिप्पणी गरिएका