जोडिनुहोस
  • होमपेज
  • १५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात

चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको भएको छ । यस्तो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा ११ प्रतिशत वृद्धि, निर्यातमा ५७ प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा ११.०२ प्रतिशतले आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि ६।२२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म यस्तो घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबर पुगेको छ ।

धेरै टिप्पणी गरिएका