जोडिनुहोस
  • होमपेज
  • २९औं नेल्टा सम्मेलन समापन: प्रविधि र मानविक सम्बन्धको सन्तुलनमा नयाँ दिशा, ८०० शिक्षकहरूको सहभागिता

२९औं नेल्टा सम्मेलन समापन: प्रविधि र मानविक सम्बन्धको सन्तुलनमा नयाँ दिशा, ८०० शिक्षकहरूको सहभागिता

ललितपुर – नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को २९औं अन्तर्राष्ट्रिय सम्मेलन हात्तिवनस्थित लिटिल एन्जल्स स्कूलमा तीन दिनसम्म चलेको थियो र आज समापन भएको छ। सम्मेलनको दौरान अंग्रेजी भाषा शिक्षणमा प्रविधिको प्रयोग, शिक्षक सशक्तीकरण, लेखन र पठन सीप सुधार, र शिक्षणमा मानवीय सम्बन्धको सन्तुलन जस्ता विषयमा वृहत छलफल गरिएको नेल्टा अध्यक्ष प्रा डा. लक्ष्मण ज्ञवालीले जानकारी दिए।

प्रा डा. ज्ञवालीका अनुसार सम्मेलनमा प्रविधी र मानिस बीचको अन्तरक्रियालाई अंग्रेजी भाषा शिक्षणमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको थियो। साथै, सम्मेलनमा प्रस्तुत भएका अनुसन्धान-आधारित विषयहरूले शिक्षा नीतिमा सुधार ल्याउन सक्ने सम्भावनाहरूको चर्चा पनि गरिएको छ।सम्मेलनमा पहिलो मुख्य वक्ता, नीनाज इचापोरियाले “एआईको युगमा अंग्रेजी भाषाको भविष्य” विषयमा प्रस्तुती दिँदै, एआईको विवेकशील प्रयोगको आवश्यकता र त्यससँग सम्बन्धित चुनौतीहरूमा प्रकाश पार्नुभयो। उहाँले एआईको प्रयोग गर्दा पूर्वाग्रह, गलत डेटा र समावेशीकरणका चुनौतीहरूको सामना गर्नुपर्ने कुरा पनि उल्लेख गर्नुभयो।

दोस्रो मुख्य वक्ता प्रा। डा। तिर्थराज खनियाँले “के एआई अंग्रेजी शिक्षकको विकल्प हुन सक्छ?” भन्ने प्रश्न उठाउँदै, प्रविधिको विवेकशील प्रयोग र शिक्षणमा मानवीय दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थीहरूलाई केवल त्यसमा निर्भर बनाउने खतरा रहेको बताए।

सम्मेलनमा २२ देशका करिब ८०० जना सहभागीले २०० भन्दा बढी शोधपरक प्रस्तुतिहरू दिएका थिए। अन्य विशेष सत्रहरूमा कनिता रिद्वाना, लशाना नान्दकुमारन, अंखजाया बातसूरी, र सह प्राध्यापक मार्कोभा एलेनाले विद्यार्थीहरूको लेखनशैली र पठन सीप सुधार्नका लागि विभिन्न रणनीतिहरू प्रस्तुत गरे। उनीहरूको धारणा थियो कि एआईले कक्षाकोठामा सहजता ल्याए पनि, शिक्षकहरूको भूमिका अझै महत्त्वपूर्ण रहनेछ।

नेल्टा प्रादेशिक गोष्ठीमा सातवटै प्रदेशका प्रमुख प्रतिनिधि र शिक्षकहरूले अंग्रेजी भाषा शिक्षामा नवीनतम प्रयास र शिक्षक सशक्तीकरणका विषयमा छलफल गरे। साथै, समकालीन सत्रहरूमा नेपाली र विदेशी प्रतिनिधिहरूले अंग्रेजी भाषा शिक्षणका विविध पक्षहरूबारे गहन छलफल गरेका थिए।

यस सम्मेलनले सहभागी शिक्षकहरूलाई नयाँ शिक्षण विधि र प्रविधि प्रयोगका बारेमा जानकार हुने अवसर प्रदान गरेको छ, जसले भविष्यमा शिक्षामा सुधार ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका