
काठमाडौं। सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ ।
धरौटीमा रिहा हुनुपर्नेमा आफूलाई थुनामा राख्नु गलत भएको भन्दै झाले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत पाटनबाट ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश गरेको हो ।
कुनै आरोपितलाई थुनामा राख्न, धरौटीमा छाड्न वा सामान्य तारिखमा रिहा गर्न दिएको आदेशको आधार र कारण खुलाएर तयार पारेको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भनिन्छ ।
अब सर्वोच्च अदालतको संयुक्त इजलासले कैफियत प्रतिवेदनका आधारमा झालाई थुनामा पठाउने आदेशको परिक्षण गर्नेछ ।