कांग्रेसले गर्यो प्रतिनिधि सभाको बैठक अवरुद्ध

कांग्रेसले गर्यो प्रतिनिधि सभाको बैठक अवरुद्ध
शुक्रबार, असार २२, २०७५

काठमाडौ । डाक्टर गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसुचीमा नराखिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले विरोध गरेपछि आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ७१ बमोजिम जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएपनि प्रस्ताव कार्यसुचीमा नपरेको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

बैठक शुरु हुनसाथ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको भन्दै कार्यसुचीमा नआएको बताउनुभयो । जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्य सुचीमा नआएसम्म प्रतिनिधि सभा चल्न नदिने उहाँले बताउनुभयो ।

उक्त नियमको उपनियम ३ अनुसार जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन पठाइएको सभामुख कृष्णबहादुर महराले बताउनुभएको थियो । नियम ७१ को उपनियम ३, अनुसार सम्बन्धित मन्त्रीसँग छलफलका लागि बोलाउन लगाएको भन्दै सरकारको जवाफ पर्खिन उहाँले आग्रह गर्नुभएको थियो ।

सभमुखका आग्रह लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख महराले आधा घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगीत गर्नुभएको थियो । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको, केसीको मागमा सरकारले बेवास्ता गरेको लगायतका विषयमा समेटेर कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।