Thu May 19 2022
फिचर

विनियोजन विधेयक २०७५ का शीर्षकमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा भाग लिंदै सांसद जीतेन्द्रनारायण देवले सघीय लोकतन्त्रलाई बलियो बनाउन प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित र बलियो बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

सांसद रामनारायण विडारीले काठमाडौँ उपत्यकामा सर्वसाधारणलाई ठूलो बसमा सहज ढंगबाट यात्रा गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिनुभयो ।

बैठकमा सांसद अनिता देवकोटाले विनियोजन विधेयकमाथिको छलफलमा विषयगत मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गर्दै बैठक स्थगन गर्न माग गरेपछि बैठक केहिबेर स्थगीत भएको थियो ।