Wed May 18 2022
समाचार

ह्विल चियरमा विश्वकप !

दैलेखका २० वर्षीय रमेश क्षेत्रीले २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाए ।

त्यसयता उनी ह्विल चियरमै छन् । यसैमा बसेर उनले बास्केट बल सिके । विभिन्न ठाउँमा पुगेर पौडी खेले ।

मंगलबार भने उनी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा रमाउँदै थिए ।

‘फुटबल खेल्दा मात्र हैन, हेर्दा पनि उत्तिकै खुसी मिल्छ,’ उनले भने, ‘म अहिले सबै कुरा भुलेर फुटबलमा रमाइरहेको छु ।’ खुट्टा गुमाउनुभन्दा पहिला फुटबल खेलेर रमाउने गरेको उनले सुनाए । ‘खेल्दा र हेर्दा दुवैमा रमाउन सकिने खेल रहेछ फुटबल,’ उनले भने, ‘यसले हामीलाई खुसी दिएको छ ।’

विश्वकप फुटबलको लहरले खुट्टा चल्नेमात्र हैन खुट्टा नचल्ने पनि उत्तिकै रमाएका छन् । ह्विल चियरमा जीवन अगाडि बढाउँदै आएका उनीजस्ता फुटबल पारखीले जोरपाटी नारायणटारस्थित एउटा संस्थामा समूहमै बसेर फुटबल हेर्दै आएका छन् । ह्विल चियरमा बसेर हेर्दा उनीहरुमा उत्साहको कमी छैन । न त खेल्न नसक्दा खेलप्रति उनीहरुको गुनासो छ ।

‘हामीले फुटबल खेल्न नसक्नुमा फुटबलको दोष छैन,’ फुटबलका अर्का पारखी नवराज कार्कीले भने, ‘त्यसैले हामी रमाउँछौं । एकछिन त खुट्टा छैन भन्ने कुरा पनि हामी बिर्सन्छांै ।’ १९ वर्षको उमेरमा दुर्घटनामा परेर स्पाइनलकड (मेरुदण्ड) मा चोट लागेपछि उनको खुट्टाको चल्ने शक्ति गुमेको हो ।
‘संसारभरका अन्य दर्शक र हामीमा केही फरक छैन,’ ३८ वर्षीय कार्कीले भने, ‘ग्राउन्डमा खेल्ने बाहेक त सबै हेरेरै रमाइलो लिने त हो नि ।’ नारायणटारस्थित बोधीसत्व नाम गरेको संस्थामा उनीजस्तै २० देखि २५ जनाले विश्वकप फुटबल हेर्न गरेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।