काठमाडौँ । सरकारले शुक्रबार मुस्ताङमा ट्रिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँका दरले सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिनिधीसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख रुपैयाँ दिने बताउनु भएको हो । विरुवा कन्ट्रक्सनले स्थानीय बाटो निर्माण गर्ने क्रममा खाना खाएर काममा फर्किने क्रममा ट्रिपर दुर्घटना भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराउनुभयो ।
उहाँले ट्रिपरमा ३२ जना सवार भएको र ति मध्ये २० जनाको मृत्यु भएको तथा घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले घाइतेहरुको अवस्था चिन्ता मुक्त रहेको जानकारी दिनु भयो ।दुर्घटनामा रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो ।
त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका १–१ जनाको मृत्यु भएको थियो ।