विश्वकप फुटबलमा तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

विश्वकप फुटबलमा तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै
शनिबार, असार ३०, २०७५

एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।

नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो ।

त्यसोत बेल्जियम र इङ्ल्यान्डले एकआपसमा २२ पटक खेलेका छन् । दुई टोलीबीच पहिलो खेल ९७ वर्षअघि ब्रसेल्समा भएको थियो । उक्त खेलमा पाहुना टोली २–० ले विजयी भएको थियो ।

विश्वकपमा भने दुई टोलीबीच तीन पटक खेल भएको छ । सन् १९५४ मा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो ।

सन् १९९० मा भने इङ्ल्यान्ड २–१ ले विजयी भएको थियो ।

जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो ।

समूह चरणको नतिजा दोर्होयाउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदै छ भने हारको बदला लिने दाउ इङ्ल्यान्डको छ ।

विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया भिड्ने छन् ।