पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी गिरफ्तार
शनिबार, असार ३०, २०७५

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् ।

 

आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई प्रक्राउ गरिएको हो ।

 

भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै उनीहरुलाई पक्राउ गरेका हुन् ।

 

उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पु¥याइएको छ । सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए ।

 

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि सञ्चारमाध्यमहरुसँग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाएका थिए ।

 

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो ।

 

अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा पुगेका थिए । पाकिस्तानमा यही जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ ।