बेल्जियमले विश्वकपमा बनायो तेस्रो स्थान

बेल्जियमले विश्वकपमा बनायो तेस्रो स्थान
आइतवार, असार ३१, २०७५

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार भएको प्रतियोगितामा इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो स्थान हात पार्न सफल भएको छ भने इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझाएको छ ।  इंग्ल्यान्डविरूद्ध २–० गोलअन्तरले जित हात पार्दै बेल्जियम तेस्रो हुन सफल भएको हो ।

बेल्जियमको यो अहिलेसम्मकै ठूलो उपलब्धी हो । यसअघि सन् १९८६ मा बेल्जियम चौथो भएको थियो । बेल्जियमको जितमा कप्तान इडन हजार्ड र थोमस म्युनियरले गोल गो गरे । एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डमाथि जित निकालेको बेल्जियम आफ्नो अन्तिम खेलमा पनि राम्रो खेल्न सफल भयो ।

बेल्जियमका लागि कप्तान इडन हजार्डले खेलको ८२ औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को दबाब खेपेको इंग्ल्यान्डले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि बेल्जियमले खेल २–० गोलले जितेको हो ।

यसअघि पहिलो हाफसम्म बेल्जियमले इंग्लयान्डविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । बेल्जियमले खेलको चौथो मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो । बेल्जियमका लागि थोमस म्युनियरले गोल गर्दै अग्रता दिलाएका थिए ।

रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमसँग पराजित हुदै इंग्ल्यान्ड भने चौथो भएको छ ।

तेस्रो स्थान हासिल गर्न सफल बेल्जियमका खेलाडीलाई फिफाका अध्यक्ष गियानी इन्फान्टिनो लगायतका विशिष्ट ब्यक्तिद्धारा मेडल प्रदान गरे ।

इंग्ल्यान्ड क्रोएसियासँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपको उपाधि दौडबाट बाहिरिएको थियो । ५२ वर्षपछि विश्वकपको फाइनल नजिक रहेको इंग्ल्यान्डले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै यात्रा टुंगिएको थियो । त्यस्तै, फ्रान्ससँग १–० गोलअन्तरले पराजित हुदै बेल्जियमले पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने अवसर गुमाएको थियो ।
जितसँगै बेल्जियमले २४ मिलियन डलर हात पारेको छ भने चौथो स्थानमा चित्त बुझाउने इंग्ल्याण्डले २२ मिलियन अमेरिकी डलर नगद पुरस्कारसहित मेडल हात पार्न सफल भएको छ ।