सामूहिक बलात्कार पश्चात जिउँदै जलाएर महिलाको हत्या

सामूहिक बलात्कार पश्चात जिउँदै जलाएर महिलाको हत्या
आइतवार, असार ३१, २०७५

भारत । भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार ३५ वर्षीया महिलालाई पाँचजनाले सामूहिक बलात्कार गरेपछि एक मन्दिरको यज्ञशालामा जिउँदै जलाएका हुन् । महिलालाई उनकै घर नजिकको मन्दिरमा जलाइएको बताइएकाे छ ।

महिलाका श्रीमानलाई उद्धृत गर्दै दिइएकाे जानकारी अनुसार पीडितले आफू जल्नुअघि युपी पुलिसलाई १०० नम्बरमा फोन गरे तापनि त्यहाँको फोन उठेन । हत्यामा संलग्नलार्इ प्रहरीले पक्राउ गर्न सकिएकाे छैन ।  यो विभत्स घटना राजपुरा पुलिस स्टेशन अन्तर्गत पर्ने एक गाउँमा शनिबार अबेर राती भएको हो । महिलाका दुई सन्तान छन् । उनका श्रीमान् गाजियावादमा मजदुरी गर्छन् ।

पुलिसका अनुसार घटना हुनुअघि महिला आफ्नो घरमा सुतिरहेकी थिइन् र अचानक पाँच जना मानिसहरु घरमा जबर्जस्ती छिरेर उनलाई सामूहिक बलात्कार गरे । पुलिसले पाँचजना विरुद्ध सामूहिक बलात्कार र हत्याको आरोपमा एफआइआर दर्ता गरेर छानबिन सुरु गरेको जनाइएकाे छ ।

पुलिसका अनुसार घटना शनिबार राती करिब साढे दुई बजेको हो । टाइम्स अफ इन्डियाले महिलाको अन्तिम फोनको क्लिप भेटेको छ जसमा उनी आफ्ना काकाको छोरासँग कुराकानी गरिरहेकी छिन् । उक्त कुराकानीमा उनले पुलिससँग सम्पर्क गर्ने कोसिस गर्दा पनि सफल हुन नसकेको बताएकी थिइन् । त्यहाँ मन्दिरको यज्ञशालामा पाँचैजनाले उनलाई जिउँदै जलाइदिए ।’

पुलिसका अनुसार आरोपीको पहिचान आराम सिंह, महावीर, चरण सिंह, गुल्लू र कुमरपालको रुपमा भएको छ । ती पाँच अभियुक्त महिला बस्ने गाउँका नै हुन् । उनीहरुले केही महिनादेखि नै महिलालाई तनाव दिइरहेको बताइन्छ ।