Fri May 20 2022
मुख्य खबर

साउनदेखी प्रदेश ३ मा विकासको लहरः मूख्यमन्त्री पौडेल

कृष्ण आचार्य । चितवन । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले चितवनलाई मेडिकल हवको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज (आईतबार) नेपाल नेत्रज्योती संघ चितवन शाखाको २० औं साधारणसभा तथा अधिवेशनको समुद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले मेडिकल हवका लागि चितवन योग्य जिल्ला भएकाले हवको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको योजना अनुसार प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्दा आईकियर सेन्टर पनि स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले स्वास्थ्यका बारेमा विभिन्न कार्यक्रम संचालन गरेता पनि आँखाको क्षेत्रमा भने ध्यान दिन नसकेको बताउनुभयो । स्वास्थ्य र शिक्षा विना समृद्ध प्रदेश संभव नभएको भन्दै यस तर्फ प्रदेश सरकारको ध्यान केन्द्रीत भएको बताउनुभयो ।

मूख्यमन्त्री पौडेलले चितवन र मकवानपुरलाई एकीकृत विकास मार्फत जोड्नुपर्ने बताउनुभयो । प्रदेश सरकार कानुन निर्माणको तहमा नै रहेको भन्दै उनले पाँच महिनाको अवधिमा अधिकतम काम गर्न प्रयास गरिएको दावी गर्नुभयो । उहाँले साउन लाग्ने वित्तिकै विकासको लहर चलाउने बताउनुभयो । सरकारको मात्रै मुख ताक्नु भन्दा पनि प्रत्येक नागरिकले आफ्नो क्षेत्रबाट पनि देश विकासका लागि भुमिका खेल्न उनले आग्रह गर्नुभयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको सुधारबाट मात्रै देशमा निरोगीहरु बढ्ने बताउनुभयो । उहाँले कृषिमा व्यापक विषादी र रासायनिक मलको प्रयोग हुने गरेको भन्दै त्यही कारण आँखा लगायतका गम्भिर प्रकृतिका रोगहरु बढेको बताउनुभयो ।