फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन
आइतवार, असार ३१, २०७५

काठमाडौं । फ्रान्सले रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । क्रोएसिया र फ्रान्सबीचको निकै नै रोमान्चक खेलमा फ्रान्स ४–२ गोल अन्तरले विजयी हुँदै विश्वकपको उपाधि चुम्न सफल भएको हो । विजेता फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर पुरस्कार राशि पनि हात पारेको छ ।

नेपाली समयअनुसार पौने ९ बजे लुजुन्की रंगशालामा भएको खेलको शुरुवातीदेखि नै दुबै टोली निकै नै आक्रामक रुपमा मैदानमा प्रस्तुत भएका थिए । खेलको १८ औं मिनेटमा फ्रान्सले अग्रता लिएको थियो । फ्रान्सले पाएको फ्रि किक क्लियर गर्न खोज्दा क्रोएसियाका मारियो मान्जुकिजले हेडमार्फत आत्मघाती गोल गरे । एक गोलले अघि बनेकोे फ्रान्सको अग्रता धेरै बेर भने टिक्न सकेन ।

पहिलो गोल भएको १० मिनेट नबित्दै फ्रान्सका कान्टेले गरेको फलमा पाएको फ्रिकिकलाई क्रोएसियाका इभान पेरिसिसले बललाई जाली चुमाएका थिए । यस विश्वकपको २९ औं पेनाल्टीबाट ग्रिजमेनले गोल गर्दै फ्रान्सले २–१ को अग्रता लियो । निकै नै रोमाञ्चक बनेको खेलमा पहिलो हाफको अन्तिम समयमा क्रोएसियाले लगातार तीन पटकसम्म क्रनर पाए पनि गोलमा परिणत गर्न भने सकेको थिएन । पहिलो हाफमा थपिएको ३ मिनेटको इन्जुरी समय पनि निकै नै रोमान्चक र आक्रामक बनेको थियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा फ्रान्सका लागि पोग्बाले बललाई जाली चुमाएपछि फ्रान्सले ३–१ को अग्रता बनाएको थियो । त्यस्तै खेलको ६५ औं मिनेटमा फ्रान्सका लागि एम्बाप्पले गोल निकै नै आकर्षक गोल गर्दै बललाई जाली चुमाएपछि खेल ४–१ को स्थितिमा पुगेको थियो । त्यसको केही मिनेटमै फ्रान्सका खेलाडीले किपरलाई दिएको बल खोस्दै क्रोएसियाका मारियो मान्जुकिजले दोस्रो गोल गर्दै खेल ४–२ को स्थितिमा पु¥याएको भए पनि अन्य समयमा पाएका अवसरहरुलाई क्रोएसियाले गोल गर्न नसक्दा दोस्रौ स्थानमै चित्त बुझाएको छ ।

२१ औं संस्करणको उपाधि जितेको फ्रान्स ४ वर्षसम्म विश्व फुटबलमा राज गर्नेछ । क्रोएसियाले गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले बेल्जियममाथि १–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको हो । फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो । सन् १९९८ मा उपाधि जितेको फ्रान्सले २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो ।

तर यसपटक क्रोएसियाले सम्झनलायकको प्रर्दशन गर्दै पहिलो पटक विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको हो । विश्वकपको फाइनलमा स्थान बनाएसँगै क्रोएसियाले केही रेकर्ड समेत बनाएको थियो । बुधबार राति भएको सेमिफाइनल खेल जित्दै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएपनि फाइनलमा फ्रान्ससँग पराजित हुँदै दोस्रो स्थाना चित्त बुझाएको हो । हालसम्म विश्वकपको उपाधि ८ टिमले मात्र जितेका छन् ।

सेमिफाइन खेलमा बेल्जियमलाई पराजित गर्दै फाइनल पुगेको फ्रान्सको विश्वकपमा यो तेस्रो पटकको फाइनल यात्रा थियो । सन् १९९८ र सन् २००६ मा उसले फाइनल खेलिसकेको थियो । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग फाइनलमा पराजित भएको थियो ।

सन् १९९८ को विश्व विजेता फ्रान्सले यो सहित १५ औं पटक विश्वकप खेलेको हो । फिफा वरियताको ७ औ स्थानमा रहेको फ्रान्स युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै विश्वकपमा छानिएको टोली हो । सन् १९९८ पछि दोस्रो पटक फाइनल पुगेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनामाथि शानदार जित दर्ता गरेको थियो । जसमा १९ वर्षीय काइलियन एम्बाप्पेको प्रर्दशन उत्कृष्ट रहेको थियो भने फाइनलमा पनि एक गोल गर्दै एम्बाप्पे यो विश्वकपको सबैभन्दा उत्कृष्ट खेलाडी ठहरिएका छन् ।