Tue Sep 27 2022
फिचर

सरकारको विरोध गर्नेहरुविरुद्ध प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।

पार्टी कार्यालय धुम्वाराही मंगलबारमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएको आरोप लगाउदै प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । सुशासन ल्याउने प्रतिवद्धताबाट आफू विचलित नहुने बताउँदै ओलीले संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।

अन्य सरकारको भन्दा यस सरकारको उद्देश्य फरक रहेको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताउनुभयो । दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

चुनावभन्दाअघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको उहाले बताउनुभयो । उहाले मुलुकको समृद्धि र बिकासका लागी राष्ट्रिय अभियानलाई सफल पार्न सबै एक भएर लाग्नुपर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत गरेको आरोप लगाउनुभयो ।