Thu May 19 2022
समाचार

राजधानीका सडकमा फोहोरको डंगुर

काठमाडौं । केहीदिन यता राजधानीका सडकको फोहोर उठ्न सकेको छैन । डम्पिङ साइटमा जाने बाटो पहिरोका कारण अवरुद्ध बनेपछि राजधानीका सडकमा फोहोर थुप्रिएको हो ।

करिब दुई साता भयो काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए ।

‘फोहोर माथि बनाइएको बाटो नै भासिएकोले ट्रकले फोहोर घोप्ट्याउन सकेनन्,’ उनले भने । फोहोरको रास माथि गाडी गुड्नु परेपछि यस्तो नभए के होस् ।’ सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइडको विकल्प १४ वर्षसम्म पनि नखोज्दा यो समस्या उत्पन्न भएको हो ।

फोहोर उठ्न नसकेपछि राजधानी दुर्गन्धित बन्दै गएको छ भने मानव स्वास्थयमा पनि असर पुग्न थालेको छ । त्यसो त असारे बजेट सकाउन रातारात पिचमाथि पिच गर्ने सरकारले वर्षौंदेखि समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनमा चासो नदिएको जनगुनासो पनि बढ्दो छ ।