Sun May 22 2022
मुख्य खबर

वार्ता विफल, डा केसीको स्वास्थ्य अवस्था थप जटिल

काठमाडौं ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। डा केसीको श्वासप्रस्वासमा समेत समस्या देखिन थालेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

यता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको छ। सरकारी टोली गम्भीर नदेखिँदा वार्ता फलदायी हुन नसकेको डा केसी पक्षका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले बताए। मंगलबार बिहान भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो। सोमबार रातिको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता मंगलबार पुनः गर्नेगरी स्थगन भएको थियो।

डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए।

डा केसीका तर्फबाट डा अभिषेख सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन्। चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका मागसहित डा केसी गत असार १६ देखि जुम्लामा अनसनमा छन्।