एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली नजिक दुई भवन भत्किंदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।
दिल्लीको ग्रेटर नोयडा क्षेत्रमा गएराति भएको घटनामा अन्य ५० जना हराइरहेको आशंका गरिएको छ ।
निर्माणधीन ६ तल्ले भवन केही वर्षअघि निर्माण गरिएको ४ तल्ले भवनमा खसेको जनाइएको छ ।
जग निकै कमजोर रहेका कारण भवन भत्केको अधिकारीले जनाएका छन् । हराइरहेकाहरुको सङ्ख्या धेरै रहेका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
हराइरहेकाहरुको खोजी तथा उद्धारका लागि सयभन्दा बढी स्थानीयवासी तथा उद्धारकर्मी परिचालन गरिएको भारतीय अधिकारीले जनाएका छन् । यसै सिलसिलामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
भारतमा भवन निर्माण गर्दा सावधानी नअपनाइने तथा कमजोर भवन सुरक्षाका कारण हरेक वर्ष यस्ता दुर्घटना हुने गरेका छन् ।