Fri May 20 2022
देश

केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने कांग्रेसको चेतावनी 

काठमाडौं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश नगरे केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको काग्रेसका शीर्ष नेताहरुको बैठकले तोडमोड गरी ल्याइएको विधेयक विरुद्धमा दवाब बढाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने र डा.केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने कांग्रेसको अडान रहेको छ ।

प्रवक्ता शर्माले बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई भने अवरोध नगर्ने र सम्बोधनपछि मात्र बैठक अवरुद्ध गर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै काग्रेसले बिहीबार बस्ने प्रतिनिधीसभा बैठकमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संबैधानिक व्यवस्थालाई पनि छलफलका लागि प्रवेश गराउने तयारी भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

शीर्ष नेताहरुको बैठक सुरु हुनु अघि सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छुट्टै भेटवार्ता भएको थियो ।

छलफलमा पौडेलले विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमती जनाउनु भएको प्रवक्ता शर्माले बताउनुभयो ।

पौडेल समूहबाट नाम आएपछि बिहीबारसम्म विधान मस्यौदा समिति गठन हुन सक्ने शर्माले जानकारी दिनुभयो ।

विधान मस्यौदा समिति ९ देखि ११ सदस्यीय हुने बताइएको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।