Sun Dec 4 2022
देश

डा. केसीमा माग सम्बोधन गर्नोस्ः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत डा। गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सभापति देउवाले डा. केसीका माग जायज रहेको भन्दै तत्काल माग सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको हो ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई अनशनरत डा गोविन्द केसीको माग पूरा गर्न आग्रह गरेका छन् ।

डा केसी समर्थकहरुद्वारा आज यहाँ आयोजित दबाबमूलक प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उहाँको माग पूरा गर्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।अधिवक्ता ओमप्रकाश अर्यालले डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आइतबार सामूहिक अनशन बस्ने जानकारी दिनुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो ।