Sun Dec 4 2022
खेलकुद

महिला फुटबल लिग आजबाट

काठमाडौं । उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल लिग प्रतियोगिता सोमबारबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पाँच टिमको सहभागिता रहेको लिग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र नेपाल आर्मी रहेका छन् । त्यस्तै, काठमाडौैं र रौतहटले पनि प्रतिस्पर्धा गर्नेछन् ।

९ दिनसम्म चल्ने लिगको विजेताले दुई लाख र उपविजेताले ट्रफीसहित एक लाख नगद प्राप्त गर्नेछन् । सोमबार दिउँसो १ बजे हुने उद्घाटन खेलमा दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

सोमबारै हुने दोस्रो खेलमा रौतहट र काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् । लिगलाई महिला साफ च्याम्पियनसिपको लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । लगको उत्कृष्ट महिला खेलाडीले जनही २५ हजार पाउनेछ । व्यक्तिगत विधातर्फका गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ लिगको तयारीका लागि एन्फाले सहभागी टिमलाई ५० हजार उपलब्ध गराउने बताएको छ ।