Tue Sep 27 2022
खेलकुद

महिला फुटबलमा आज चार टोली भिड्दै

काठमाडौं । काठमाडौंमा जारी उपराष्ट्रपति महिला फुटबल लिगको दोस्रो दिन बुधबार चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा काठमाडौं र विभागीय टिम एपीएफ भिड्दैछन् । भने दोस्रो खेलमा रौतहट र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ ।

बुधबार हुने पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्पेलेक्समा खेल दिउँसो १ बजे हुनेछ । सोमबार भएको खेलमा काठमाडौं रौतहटसँग ४—० गोलले पराजित भएको थियो । विभागीय टिम एपीएफ भने प्रतियोगितामा आफ्नो पहिलो खेलमा काठमाडौंसँग बुधबार खेल्दैछ ।

त्यस्तै, बुधबार नै अर्को खेलमा रौतहट र अर्को विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदान सातदोबाटोमै हुनेछ । रौतहटले प्रतियोगिताको पहिलो खेल सोमबार काठमाडौंसँग खेलेको थियो । जसमा रौतहटले काठमाडौंलाई ४—० गोल अन्तरले पराजित गरेको थियो । यता, नेपाल पुलिस क्लब भने आफ्नो पहिलो खेलमा आर्मीसँग १—० गोल अन्तरले पराजित भएको छ ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा विभागीय टिम आर्मीले अर्को विभागीय टिम नेपाल पुलिसलाई १–० पराजित गरेको थियो । आर्मीलाई जिताउन आर्मीकी शर्मिला थापाले विजयी गोल गरेकि थिइन् । उनले खेल सकिन ८ मिनेट मात्र बाँकी रहँदा निर्णयक गोल गरेकी हुन् । त्यस्तै, सोमबार नै भएको दोस्रो खेलमा काठमाडौंमाथि रौतहटले ४—० गोल अन्तरको शानदार जित निकालेको थियो ।

रौतहटलाई फराकिलो जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक गरेकि थिइन् । घिसिङले दोस्रो हाफको १५ मिनेटभित्र ह्याट्रिक पुरा गरेकी थिइन् । यस्तै खेलको २३ औं मिनेटमा मनिषा राउतले रौतहटको लागि थप एक गोल गरेकि थिइन् । पाँच टोली सहभागी लिगको विजेताले दुई लाख पाउने छन् । यस्तै उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

राउन्ड रोविन लिगको आधारमा खेलाइएको लिग साउन १५ गते सम्म चल्नेछ । लिगको प्रदर्शनका आधारमा महिला साफ च्याम्पियनसिपको लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । लिगको उत्कृष्ट महिला खेलाडीले जनही २५ हजार पाउनेछ ।

व्यक्तिगत विधातर्फका गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ लिगको तयारीका लागि एन्फाले सहभागी टिमलाई ५० हजार उपलब्ध गराउने बताएको छ । राष्ट्रिय खेदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए ।